विश्वकप छनोट खेल्न र एकदिवसीय मान्यता जोगाउन संघर्षरत नेपाल आज पिएनजीविरुद्ध भिड्दै
थानकोट ।
आईसिसी विश्वकप लिग २ मा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) विरुद्ध खेल्दैछ । एकदिवसीय विश्वकप छनोटमा शीर्ष तीनमा पर्न संघर्षरत नेपालले आज युएईमा पिएनजीविरुद्ध खेल्न लागेको हो । नेपाली समय अनुसार याे खेल पौने १२ बजे शुरु हुनेछ ।
लिगमा लगातार ५ खेल जितेको नेपाल बिहीबार युएईसँग ६८ रनले पराजित भएको थियो । अब लिगमा ६ वटा खेल मात्रै बाँकी छन् । लिग खेल्ने ७ टिममध्ये नेपालले अब बाँकी ६ वटै खेल जितेमात्रै शीर्ष तीनभित्र रहेर विश्वकपको छनोट खेल्न सक्नेछ ।
समान ३० खेलपछि युएईको ३१ अंक पुगेको छ । नेपालको २८ अंक छ । ३६ खेलपछि पहिलो स्थानमा रहेको स्कटल्यान्डको ५०, ओमानको ४४ र नामिबियाको ३९ अंक छ । यसैले तेस्रो स्थानमा रहेको नामिबियालाई अंकमा पछाडि पार्न नेपालले बाँकी ६ खेलबाट १२ अंक जोड्नुपर्नेछ ।
नेपालले अब युएई र पपुवा न्युगिनीविरुद्ध समान तीन-तीन खेल खेल्न बाँकी छ । त्रिदेशीय सिरिजपछि नेपालले काठमाडौंमा फेरि युएई र पपुवा न्युगिनीविरुद्ध नै अन्तिम सिरिज खेल्नेछ ।
३६ खेलबाट ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ । ३० खेलबाट ७ अंकमात्रै जोडेको पपुवा न्युगिनी पुछारमा छ ।
बाँकी ६ मध्ये ४ वटा खेल जिते नेपालको एकदिवसीय मान्यता पनि जोगिनेछ । यसैले नेपालका लागि अबका प्रत्येक खेलको महत्व उत्तिकै छ ।













