विश्वकपमा छनोट भएको नेपाली यू- १९ टोली स्वदेश फर्कियो
थानकोट ।
विश्वकपमा छनोट भएको नेपाली यू- १९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । यूएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो ।
नेपाली टोली शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । आईसीसी यू–१९ विश्वकप एशिया छनोटको बिहीबार सम्पन्न खेलमा यूएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । यो जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको थियो ।
नेपाल आएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताए ।
उनले सबै खेलाडीहरूले मिहेनत गरेर खेल्दा जित हात पारेको र फाइनल खेलमा यूएईसँगका अन्तिम तीन विकेट जादुमय भएको बताए । उनले विश्वकप २०२४ मा हुने भएकाले अब विश्वकपका लागि समय बाँकी रहेकाले राम्रो नतिजा निकाल्ने गरी खेल्ने बताए ।
त्यस्तै यू- १९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताए । उनले टुर्नामेन्टमा जाँदा धेरै चुनौती भए पनि अब आउने दिनमा आफूलाई झनै प्रमाणित गरेर जाने चुनौती रहेको बताए । उनले विश्वकपमा छनोट हुनु आफ्ना लागि एउटा सपना जस्तै भएको बताए ।
त्यस्तै बलर दीपेश कँडेलले ह्याट्रिक विकेटभन्दा पनि आफ्नो टिमले जितेकोमा खुसी लागेको बताए । उनले आफू अन्तिम ओभर बलिङ गर्न आउँदा आफ्नो जीवनको फर्स्ट एन्ड लास्ट ओभर सोचेर बलिङ गरेको बताए ।
नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यू–१९ विश्वकप खेलेको थियो ।













