अप्रिल १ बाट विदेशी पर्यटक पदयात्रामा जाँदा गाइड लैजान अनिवार्य

Thankot Times

थानकोट । 

अब विदेशी पर्यटकहरूले लामो पदयात्रामा जाँदा ट्रेकिङ कम्पनीमार्फत् अनिवार्य रूपमा गाइड लैजानुपर्ने भएको छ।

नेपाल पर्यटन बोर्डले आगामी चैत १८ (अप्रिल १) देखि लागू हुने गरी यस्तो व्यवस्था गरेको हो।

नेपाल पर्यटन ऐन, २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०६६ को दफा १० ‘क’ बमोजिम यो निर्णय गरेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार साहसिक पर्यटनमा पर्ने लामो पदयात्रामा पर्यटकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको हो। यो व्यवस्थाअन्तर्गत लामो पदयात्रामा जाने पर्यटक तथा गाइड दुवैको बीमा गरिनेछ।

एक्लै पदयात्रामा जाँदा पर्यटकहरू हराउने र असुरक्षित हुने समस्या आएपछि नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यसमा चासो देखाएका थिए।

बोर्ड सञ्चालक समिति, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक ट्रेड युनियनका प्रतिनिधिबीच भएको छलफलमा पर्यटकको सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै बिनागाइड एक्लै पदयात्रामा जान रोक लगाउने निर्णय गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए सेतोपाटीमा खबर छ।

‘यस विषयमा पहिलेदेखि कुरा उठ्दै आएको थियो,’ उनले भने, ‘अहिले विभागीय मन्त्रीको निर्देशन तथा सरोकारवालाहरूको सहमतिमा पदयात्रालाई सुरक्षित बनाउन र उद्धार कार्य चुस्त राख्न यस्तो निर्णय गरिएको हो। यसले समग्र पर्यटन क्षेत्रमा राम्रो सन्देश जाने आशा लिएका छौं।’

यो निर्णयसँगै नेपालमा ट्रेकिङ गाइडहरूको रोजगारी र आय बढ्ने उनले बताए।

पर्यटन बोर्डको तथ्यांकअनुसार नेपालमा पहाडी तथा हिमाली क्षेत्रमा लामो पदयात्रा (ट्रेकिङ) गर्न आउने कुल पर्यटकमध्ये ३० प्रतिशत बिनागाइड एक्लै जाने गर्छन्। कोभिड महामारीभन्दा अगाडि वार्षिक ४६ हजार हाराहारी पर्यटक यसरी नै पदयात्रामा जाने गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए।

बोर्डले एक्लै पदयात्रामा जान बन्द गरेसँगै अब सबै पर्यटकलाई पदयात्रा निम्ति एकै प्रकारको अनुमति कार्ड दिइने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *