बागमती प्रदेशमा ७० अंकभारको नियम लागू भएपछि ट्रायल दिनेमध्ये ६५ प्रतिशत उत्तीर्ण

Thankot Times

थानकोट ।

७० अंकभारको नियम लागू भएसँग बागमती प्रदेशभित्र चालक अनुमतिपत्र (लाइसेन्स)का लागि ट्रायलमा उत्तीर्ण हुनेको संख्या बढेको छ । २ फागुनदेखि यो नियम लागू भएसँगै ट्रायलका लागि फारम भर्नेको संख्यासमेत बढेको छ ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार दैनिक करिब ६ हजारले आवेदन भर्न थालेका छन् । मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलका अनुसार ७० अंकभारको नियम लागू भएपछि उत्तीर्ण हुनेको संख्या २५ प्रतिशतले बढेको छ ।

नियम लागू नहुन्जेल ३५–४० प्रतिशत मात्रै उत्तीर्ण हुने गरेकामा लागू भएपछि ट्रायल दिनेमध्ये ६०–६५ प्रतिशत उत्तीर्ण हुन थालेका छन् । ‘यो नियम लागू भएसँगै ट्रायलमा उत्तीर्ण हुने र आवदेन दिनेको संख्या बढेको छ,’ उनले भने, ‘कार्यालयहरूलाई अझ व्यवस्थित गर्ने हो भने ट्रायल दिनेको संख्यासमेत बढाउन सकिन्छ ।’ यसअघि देशका पाँचवटा प्रदेशमा ७० अंकभारको नियम लागू भए पनि बागमती र कर्णाली भने बाँकी थियो । कर्णालीमा अझै यो नियम लागू हुन सकेको छैन् ।

लाइसेन्सका लागि दिनुपर्ने ट्रायल (प्रयोगात्मक परीक्षा)मा सानो त्रुटिले पनि पास नहुने समस्याको अन्त्यका लागि ०७७ मै संघीय सरकारले कार्यविधि ल्याएको थियो । तर, अन्य प्रदेशमा लागू भए पनि बागमती र कर्णाली प्रदेशमा सो नियम लागू हुन सकेको थिएन नयाँ पत्रिकामा खबर छ ।

७० अंकभारको नियम लागू गर्दा निजी ट्रायल सेन्टरहरूको व्यवसाय खुम्चने भएकाले यो नियम लागू हुन नदिन ट्रायल सेन्टरहरू नै लागिपरेका थिए । तर, अर्को दबाबपछि १ फागुनदेखि यो नियम लागू भएको हो । यातायात व्यवस्था विभागले ०७७ मा ‘सवारीचालक अनुमतिपत्र वितरण कार्यविधि, २०७७’ जारी गरेको थियो । यस कार्यविधिलाई अंकमा आधारित कार्यविधि पनि भनिन्छ ।

यस कार्यविधि लागू भएपछि मोटरसाइकल तथा चारपांग्रे यातायातको ट्रायलका ७० प्रतिशत अंक ल्याए पुग्छ । तर, उकालो र ओरालोमा भने शत प्रतिशत अंक ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *