‘झापा विद्रोह’ का अगुवा क्रान्तिकारीहरूको सम्झनामा आज साँझ सतुंगलमा दिप प्रज्वलन गरिने
थानकोट ।
५० वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’ का पाँच अगुवा क्रान्तिकारीहरूको शहादतको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरि स्मृति दिवस मनाइँदैछ ।
वि.सं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई नै ‘झापा विद्रोह’ को रुपमा चिनिन्छ जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो ।
सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।
यही विद्रोहका जगमा नेकपा (माले) नेकपा (एमाले), नेकपा (माओवादी) हुँदै मुलुकमा नेकपाको जन्म भएको मानिन्छ । अझै पनि नेमकिपा, नेकपा(मसाल), नेकपा(माले), नेकपा(क्रान्तिकारी माओवादी), नेकपा आदि अन्य वामपन्थी समूह पनि संसद भित्र र बाहिर क्रियाशील छन् ।
‘झापा विद्रोह’ को स्मृतिमा आज नेकपा एमाले चन्द्रागिरि नगर कमिटिले दिप प्रज्वलन कार्यक्रम गर्ने भएको छ । सो पार्टीका चन्द्रागिरि नगर कमिटि अध्यक्ष राजु श्रेष्ठले थानकोट टाइम्सलाई दिनुभएको जानकारी अनुसार साँझ ५ः३० बजे चन्द्रागिरि नगरपालिका सतुंगलस्थित लाक्षी टोलमा दिवंगत सहिदहरूको सम्झनामा दिप प्रज्वलन गरिनेछ ।













