‘चन्द्रागिरिमा आधारभूत अस्पताल निर्माण हुनु नगरबासीका लागि गाैरवको विषय’- प्रवक्ता खड्गी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीले चन्द्रागिरि नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनु समस्त नगरबासीहरूकै गाैरवको विषय भएको बताउनुभएको छ ।

प्रवक्ता खड्गीले मंगलबार सामाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्नुहुँदै सो बताउनु भएको हो ।

प्रवक्ता खड्गीले सामाजिक सञ्जालमा लेख्नुभएको छः

कुनैबेला पश्चिम काठमाडाैंमै एक मात्र स्वास्थ्य संस्था रहेको थानकोट क्षेत्रमा शहरी स्वास्थ्य केन्द्र, बर्थिङ्ग सेन्टर हुँदै नगर प्राथमिक अस्पताल हुँदै आधारभूत अस्पताल निर्माणको चरण पुगेको अवसरमा हामी चन्द्रागिरि बासी निकै गाैरवान्वित भएको महशुस गरेका छाैं ।

मुलुक संघीयतामा रूपान्तरित भएपछि जनताको प्रत्यक्ष मतदानबाट निर्वाचित जनप्रतिनिधिहरूको पहिलो कार्यकालमा थालिएको पहल कदमीले हाम्रो दोश्रो कार्यकालमा पूर्णता पाउन लागेकोमा हामी नगरबासीहरू तालुकदार निकाय नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका पूर्व सहसचिव परशुराम श्रेष्ठ, अच्यूत लामिछाने तथा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी तथा यस कार्यमा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद दिन चाहन्छु ।

विशेषतः वि.सं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित चन्द्रागिरि कार्यपालिका सदस्यज्यूहरू, नगर सभा सदस्यज्यूहरू, यस क्षेत्रका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका माननीयज्यूहरू, चन्द्रागिरि नगरपालिकाका कर्मचारी वर्ग साथै समस्त विकासप्रेमी दाजुभाई तथा दिदीबहिनीहरूको अथक प्रयास, सुझावसमेत ध्यानमा राख्दै यस क्षेत्रमा आधारभूत अस्पताल निर्माणको पहिलो चरणले सार्थकता पाएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को फाल्गुन ४ गतेको बैठकको स्वीकृतिअनुसार अस्पताल निर्माणका लागि टेण्डर खुल्ला भएसँगै यस क्षेत्रमा स्थापना हुने सुविधासम्पन्न अस्पतालले समस्त नगरबासीहरूको आवश्यक स्वास्थोपचारमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छु ।

पछिल्लो समय कोरोना भाइरसले महामारीको रूप लिइरहँदा संक्रमितहरूका लागि होल्डिङ सेन्टर आइशोलेसन निर्माण गरी रोग न्यूनीकरणमा चन्द्रागिरि नगर प्राथमिक अस्पतालले यस क्षेत्रमा पुर्याएको योगदान समेत हाम्रा लागि सदैव स्मरणीय रहनेछ ।

स्वास्थ्य मन्त्रालयको ८० प्रतिशत लागत व्यहोर्ने गरी निर्माण हुने चन्द्रागिरि नगर आधारभूत अस्पताल हाल सञ्चालनमा रहेको नगर प्राथमिक अस्पतालको परिस्कृत स्वरूप रहने हुँदा यसको निर्माण निर्धारित समयमै सम्पन्न गरी सेवापभोग गर्ने बाटोमा हामी सबै नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरूले चासो राख्नुपर्नेमा जोड दिन चाहन्छु । 

चन्द्रागिरि नगरपालिका ४ थानकोटस्थित हाल प्राथमिक अस्पताल सञ्चालन भइरहेको स्थान नजिकै नयाँ अस्पताल भवन निर्माणका लागि मन्त्रीपरिषद्को फाल्गुन ४ गतेको बैठकले २३ रोपनाी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

करिब २६ करोड रूपैयाँ लागतमा अस्पताल निर्माण हुनेछ ।

करिब २६ करोड रूपैयाँ लागतमा निर्माण हुने चन्द्रागिरि आधारभूत अस्पतालको टेण्डर खुल्यो

सबै तस्बिरः नगरप्रवक्ता खड्गीको फेसबुक पेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *