आईसीसी विश्वकप लिग-२ : यूएईमाथि नेपालको जित

Thankot Times

थानकोट।

आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई हराएको छ । सोमबार भएको खेलमा नेपालले युएईलाई ४२ रनले हराएको हो ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनायो ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाएका थिए ।

यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए । त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ ।

त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ ।

यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ । यूएईको ३२ खेलमा ३१ अंक छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *