स्थानीय तहले आफूखुसी सडक बत्ती जोड्न थालेपछि प्राधिकरणले सचेत गरायो
थानकोट ।
स्थानीय तहले आफूखुसी सडक बत्ती जोड्न थालेपछि नेपाल विद्युत प्राधिकरणले सचेत गराएको छ ।
स्थानीय तहले प्राधिकरणको सहमति नलिई सडक बत्ती जडान गर्दा विद्युत शक्ति मापन हुन नसकेको भन्दै प्राधिकरणले यसो नगर्न भनेको हो । एकातर्फ विद्युत शक्तिको मापन नहुने र अर्कोतर्फ मापन नभएको विद्युतको बक्यौता भुक्तानी नभएको भन्दै प्राधिकरणले त्यसो नगर्न स्थानीय तहहरुलाई सचेत गराएको हो ।
पछिल्लो समय देशैभर उज्यालो अभियान भन्दै सडक बत्ती जडान र बाल्ने गरिएको छ । यसरी बत्ती बाल्दा नेपाल विद्युत प्राधिकरण अन्तर्गतका वितरण केन्द्रको सहमति लिएर मात्र प्राधिकरणको विद्युत लाइनबाट सडक बत्ति राख्न प्राधिकरणले सचेत गराएको छ ।
स्थानीय तह र प्राधिकरणबीच काठमाडौं महानगरपालिकासहित देशका अधिकांश स्थानीय तहसँग यस्तो बक्यौता रहेको छ ।
प्राधिकरणले सडक बत्तीको बक्याैता विद्युत महशुल शीघ्र भुक्तानी गर्न भनेको छ । यसरी मापन भएको विद्युतको समेत महशुल नतिर्दा प्राधिकरणले ठूलो क्षति व्यहोर्नु परेको समेत प्राधिकरणको भनाइ छ ।













