एएफसी यू-२० महिला एसियन कप छनोट: दिपा शाहीको ह्याट्रिकमा नेपालको विजयी सुरूवात
थानकोट ।
एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ ।
फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा नेपालले आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको हो ।
नेपालको सानदार जितमा दिपा शाहीले ह्याट्रिक गोल गरिन् । गरिमा राईको नाममा दुई गोल रह्यो । नेपालले एक गोल आत्मघाती उपहार पायो ।
खेलको २१ औं मिनेटमा दिपाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । गरिमाले २९ औं मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा २-० ले अघि रह्यो ।
खेलको ६४ औं मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३-० ले अघि रह्यो ।
७५ औं मिनेटमा दिपाले ह्याट्रिक पूरा गर्दा नेपालको अग्रता ४-० को बन्यो ।
खेलको ८३ औं मिनेटमा गरिमाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ५-० ले अघि रह्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा प्यालेस्टाइनकी गोलकिपर शारलोट फिलिप्सले आत्मघाती गोल गर्दा नेपाल ६-० ले विजयी भयो । दिपाको प्रहार पोस्टमा लागेर फर्किएको बल फिलिप्सलाई लाग्दै गोल भएको थियो ।













