राष्ट्रपति निर्वाचन आज, निर्वाचनको परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने
थानकोट ।
नेपालमा तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।
आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान प्रक्रिया चल्ने निर्वाचन आयोगले जनाएको छ ।
सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । ‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन्, तीन बजे पछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन् ।’
राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र बानेश्वर पठाइसकेको छ ।
मतपत्रमा उम्मेदवारको नाम र फोटो हुने तर निर्वाचन चिह्न नहुने पौडेलले बताए । उनले भने, ‘मतपत्र छपाई गरेर आयोगले निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा पठाइसकेको छ । मतपत्रमा सम्बन्धित उम्मेदवारको नाम र तस्बिर हुन्छ । मतपत्रको कोठाभित्र स्वस्तिक छाप लगाएर मत संकेत गर्नुपर्ने हुन्छ ।’
मतपत्रमा स्वस्तिक बाहेक अन्य चिह्न लगाए वा ‘ठिक’ चिह्न लगाएमा मतपत्र बदर हुने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरेको उनले बताए ।
निर्वाचन आचार संहिताका कारण गए रातिदेखि चुनाव प्रचार प्रसारमा रोक लागेको छ । मतदानका बेला मतदाताका रुपमा रहेका संघीय र प्रदेश सांसदले मतदान स्थलमा मोबाइल फोन प्रयोग गर्न नपाउने उनले बताए । निर्वाचनमा एक मतदान केन्द्रमा ७ जना कर्मचारी खटिनेछन् भने पर्याप्त मात्रामा सुरक्षाकर्मी खटिने उनले बताए ।
राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।
आज हुन गइरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार आजै साँझ ७ बजे भित्र निर्वाचन परिणाम घोषणा हुनेछ ।
सङ्घीय सांसद अन्तर्गतका मतदाता र प्रदेश संसद् अन्तर्गतका मतदाताका अलग अलग मतगणना गरिने र एकमुस्ट रूपमा मत परिणाम घोषणा गरिने गरी तयारीका साथ काम आयोगले राष्ट्रपति निर्वाचनको तयारी पूरा गरेको छ ।
आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।













