भैरहवा उडेको श्री एयरलाइन्सको इन्जिनमा आगो देखिएपछि काठमाडौंमा सकुशल अवतरण
थानकोट ।
काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको झिल्को देखिएपछि काठमाडौंमा सकुशल अवतरण गरिएको छ। चालक दलका सदस्यले काठमाडौंबाट जहाज उड्ना साथ इन्जिनमा आगो देखिएको टावरलाई जानकारी गराएको थियो।
लगत्तै टावरले काठमाडौं फर्कन चालक दललाई भनेपछि जहाज आकस्मिक अवतरण गराइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्ड्ययन कार्यालय स्रोतका अनुसार केहीबेर अघि जहाज सकुशल अवतरण गरिएको छ। जहाजमा आगो लागेको सूचना आएपछि विमानस्थलमा उच्च सतर्कता अपनाइएको थियो भने आन्तरिक र अन्तर्राष्ट्रिय उडान केही समय होल्ड गरिएको थियो।













