आईसीसी क्रिकेट विश्वकप लिग-२: पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित
थानकोट ।
काठमाण्डाैमा बिहीबारबाट सुरू भएको आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदिवसीय सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ब्याटिङमा आसिफ शेख र बलिङमा सन्दीप लामिछाने चम्किएपछि नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि ५२ रनको जित निकालेको हो ।
नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २४५ रनमात्र बनाउन सक्यो । त्यसअघि आसिफले आफ्नो करियरकै पहिलो अन्तर्राष्ट्रिय शतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि कीर्तिपुरमै नामिबियाले प्रस्तुत गरेको २८७ रनको लक्ष्य भेट्टाउनु नै नेपालले एकदिवसीय क्रिकेटमा बनाएको उच्च स्कोर थियो । यस्तै, पीएनजीविरुद्धको यो लक्ष्य एकदिवसीय क्रिकेटमा नेपालले पहिले ब्याटिङ गरेर खडा गरेको सबैभन्दा ठूलो योगफल पनि हो ।
नेपालले यसअघि २०२२ मा पीएनजीविरुद्ध नै २७८ रनको योगफल खडा गरेको थियो । यो नै नेपालले पहिले ब्याटिङ गरेर उच्च योगफल थियो । २९८ रन पछ्याएको पीएनजीका ओपनर टोनी उराले ५० रन बनाए । उराले पहिलो विकेटका लागि किप्लिन डोरिगासँग ७७ रनको साझेदारी गर्दै पीएनजीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछि नेपाली बलर हावी हुँदा पाहुना टिम २४५ रनमै समेटियो ।













