एक लाख घुससहित ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत पक्राउ
थानकोट ।
शिक्षकको सरुवा गर्न लिएको १ लाख रुपैयाँ घुससहित ललितपुर महानगरपालिकाका अधिकृत पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । शिक्षकको सरुवा गर्दा उनले घुस रकम मागेका थिए । त्यसपछि ती शिक्षकले पौडेलले मागेजति रकम बिहीबार दिएका थिए ।
रकम दिनुअघि ती शिक्षकले अख्तियारलाई पनि खबर गरेका थिए ।
लगत्तै अख्तियारको टोली पौडेलको निगरानीमा खटिएको थियो । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले पौडेलले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको बताए ।
उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।













