राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज शीतलनिवासमा बुझाइँदै
थानकोट ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ ।
बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेले निर्वाचित भएका थिए ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
आयोगले बिहीबर भएको राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको जनाउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचकमण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्वद्ध सबैमा धन्यवाद दिएको छ ।













