गुडिरहेको सुमोमा आगलागी
थानकोट ।
गुडिरहेको सुमोमा अचानक आगलागी भएको छ। काठमाडौंबाट सोलुखुम्बुका लागि छुटेको ना.१ज ८८८२ नम्बरको सुमोमा शुक्रबार ओखलढुंगामा अचानक आगलागी भएको हो।
सिद्धिचरण राजमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका– ७ हिलेपानीनजिक गुडिरहेको सुमोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।
घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक दासले बताए। ‘गुडिरहेको सुमोमा एक्कासि आगो लागेर सवारी पूर्ण रूपमा जल्यो, तर मानवीय क्षति भने हुन पाएन,’ निरीक्षक दासले नयाँपत्रिकासँग भने, ‘घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौँ।’
उनका अनुसार सुमोमा नौजना सवार थिए। घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक केसीको नेतृत्वमा अनुसन्धान भइरहेको छ।
उकालोमा सवारी अत्यधिक तातेका कारण वायरिङ सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। चालकहरूका अनुसार यो क्षेत्रमा उकालोमा इन्जिन तात्ने र ओरालोमा लामो समय ब्रेक लगाउँदा सवारी अनियन्त्रित भएर दुर्घटना हुने समस्या बढेको छ।
प्रतिकात्मक तस्बिर













