एक दिवसीय मान्यता जोगाउन नेपालले यूएईलाई दियो २४८ रनको चुनाैती

Thankot Times

थानकोट ।

घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा यूएईलाई २४९ रनको लक्ष्य दिएको छ ।

टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २४८ रन बनाएपछि यूएईले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ११२ बलमा ९ चौकाको मद्दतमा ७७ रन बनाए ।  एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितले आठौँ अर्धशतक बनाए । रोहित नेपालको सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । यसअघि आशिफ र ज्ञानेन्द्र मल्लले एकदिवसीय क्रिकेटमा ७–७ अर्धशतक बनाएका छन् ।

रोहितले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ८६ रनको साझेदारी गरे । यसअघि उनले  चौथो विकेटका लागि भीम शार्कीसँग ५४ रनको साझेदारी गरेका थिए । आरिफ शेखले ५२ बलमा पाँच चौका प्रहार गर्दै ४३ रन बनाएर आउट भए । गुल्सन झाले ३२ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३७ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीले १९ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यसअघि भीम शार्की २९, कुशल मल्ल ९, कुशल भुर्तेल आठ र आशिफ शेख शून्यमा आउट भएका थिए । २२ रन हुँदा तेस्रो विकेट गुमाएको नेपालले सम्हालेर खेल्दै यूएईलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।

यूएईका आयन अफ्जल खान, रोहन मुस्तफा, जाहोर खान र जावार फरिदले समान २–२ विकेट लिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ