आइसिसी विश्वकप क्रिकेट लिग-२: पपुवा न्यूगिनीले नेपालसामु पेश गर्यो ९६ रनको लक्ष्य
थानकोट ।
सन्दिप लामिछानेको घातक बलिङ सामु पपुवा न्युगिनीको इनिङ ९५ रनमा धरासायी बनेको छ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पिएनजी) विरूद्धको खेलमा लामिछानेले ५ विकेट लिएपछि पिएनजीले नेपाललाई ९६ रनको लक्ष्य दिएको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रनमा अलआउट भयो।
नेपाल, युएई र पिएनजीबीचको यो सिरिज सात देशबीचको आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो।
आइतबार युएईमाथि जित निकालेसँगै नेपालले दुई खेल खेल्न बाँकी छदै एकदिवसीय मान्यता जोगाएको थियो।
नेपालले अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ।
सिरिजमा नेपालले अन्तिम खेल चैत २ मा युएईसँग खेल्नेछ।
लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।
लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ। बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।
पाँचौ स्थानको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३४ खेलबाट ११ अंक छ।
लिग-२ बाट एकदिवसीय मान्यता जोगाउन असफल भएका युएई र पिएनजीका लागि विश्वकप क्वालिफायर प्लेअफबाट एकदिवसीय मान्यता जोगाउने अवसर भने हुनेछ।













