बागमती प्रदेशका मन्त्रालयहरू भवन हेटौंडाको हटियामा बनाइने
थानकोट ।
बागमती प्रदेश सरकारले मन्त्रालयका भवनहरू हेटौंडा उपमहानगरपालिका-१६ हटियामा बनाइने भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले हटियाको शिबम् सिमेन्ट उद्योगसँग जोडिएको जग्गामा मन्त्रालयको भवन र अन्य महत्वपूर्ण पूर्वाधारहरू बनाउन वातावरणीय प्रभाव मूल्यांकन गर्ने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए ।
प्रदेश सरकारले मकवानपुरका विभिन्न स्थानमा जग्गा पहिचान गरि त्यस स्थानमा प्रदेश संरचना बनाउन संघीय सरकारलाई सिफारिस गरे पनि हटियाको कित्ता नम्बर १९६ मा रहेको ५४ विगाह जमिनको मात्र संघीय सरकारबाट स्वीकृति प्राप्त भएको उनले जानकारी दिए ।
सिफारिस गरिएका अरु जग्गा प्राप्तिको प्रक्रियामा रहेको उनको भनाइ छ ।
प्रदेशले आफ्नो संरचना बनाउन नसक्दा अहिले एउटा मन्त्रालय भाडाको घरबाट सञ्चालन भैरहेको छ भने मुख्यमन्त्री कार्यालयसहितका अरु मन्त्रालय र कार्यालयहरु तत्कालिन संघीय सरकारका विभिन्न भवनहरुबाट सञ्चालित छन् ।













