सस्तोमा जुत्ता-चप्पल बेचेको भन्दै मेला बन्द गर्न सिडियोलाई फेन्सी व्यवसायीको ज्ञापन पत्र
थानकोट ।
चितवन जुत्ता–चप्पल मेला रोक्न माग गर्दै फेन्सी व्यवसायी संघ चितवनले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
औद्योगिक प्रदर्शनी केन्द्रमा फागुन १७ गतेदेखि सञ्चालित मेलाका कारण साना व्यवसायीहरु व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै संघले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएको हो ।
फेन्सी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेलले प्रजिअ पौडेललाई विज्ञप्ति बुझाएका थिए । मेलाले चितवनमा व्यवसाय गरिरहेका फेन्सी व्यवसायीलाई प्रत्यक्ष असर गरेको व्यवसायीको गुनासो छ । नेपाली उत्पादनको प्रवर्द्धन हुनु सकारात्मक पक्ष भए पनि व्यवसायीका गोदाममा जुत्ता-चप्पल बिक्री नभई थन्किएको अवस्थामा उद्योगले ज्यादै न्यून दर राखेर मेलामा जुत्ता-चप्पल बिक्री गर्दा व्यवसायीलाई असर पुगेको उनीहरुको भनाइ छ ।
‘चितवन जुत्ता-चप्पल मेला तत्काल बन्द गराई हामी साना व्यवसायीलाई सहजरुपमा व्यवसाय सञ्चालन गरी व्यवसायबाट पलायन हुने अवस्थाको अन्त्य गर्नका लागि ज्ञापन पत्र पेश गर्दछौँ’, सिडियोलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।
मेला लामो समयसम्म चल्दा कर तिरेर बसेका व्यवसायीलाई असर पुगेकोमा आफू जानकार रहेको सिडियो पौडेलले बताए ।













