दुर्लभ विश्व कीर्तिमान नजिक सन्दीप लामिछाने, २ खेलमा २ विकेट लिए बन्नेछ यस्तो कीर्तिमान

Thankot Times

थानकोट । 

नेपालका सन्दीप लामिछानेले दुर्लभ विश्व कीर्तिमाननजिक छन् । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा अफगानिस्तानका बलर राशिद खानको सबैभन्दा छिटो एक सय विकेटको विश्व कीर्तिमान तोड्ने तरखरमा छन् सन्दीप । सन्दीपले ४० खेलबाट ९८ विकेट लिएका छन् ।

उनै सन्दीप हुन् जसले बलात्कारको आरोपमा करिब दुई महिना पुर्पक्षका लागि थुनामा बसेर फेरि खेल जीवनमा फर्किए । खेलमा फर्किएसँगै सन्दीपको प्रदर्शन झनै राम्रो हुँदै गइरहेको छ ।

सोमबार पपुवा न्युगिनीलाई नेपालले ९५ रनमा अलआउट गर्दा सन्दीपले पाँच विकेट लिए । उनै सन्दीप प्लेयर अफ द म्याच पनि चुनिए । सन्दीपले लिएको यो पाँच विकेटसँगै उनी विश्व कीर्तिमान नजिक पुगेको छन् । अब उनले दुई विकेट लिए ओडीआईमा सबैभन्दा छिटो सय विकेट लिने राशिद खानको विश्व कीर्तिमान बराबरी गर्नेछन् । त्यस्तै, तीन विकेट लिए उनले राशिदको त्यो दुर्लभ विश्व कीर्तिमान भंग गर्दै आफ्नो नाममा राख्ने छन् ।

राशिदले ४४ खोलमा १०० विकेटको विश्व कीर्तिमान राखेका थिए । उनले सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध एक विकेट लिएसँगै यस्तो विश्व रेकर्ड राखेका थिए । उनले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कको रेकर्ड तोडेका थिए । स्टार्कले २०१६ मा ५२ खेलबाट सय विकेट पूरा गरेका थिए ।

बिहीबार नेपालले यूएईविरुद्ध खेल्दैछ । सन्दीपले बिहीबार नै यूएईविरुद्धको खेलमा राशिदको रेकर्ड भंग गर्न सक्छन् । सन्दीप भन्छन्, ‘विश्व कीर्तिमानका लागि अझै पनि समय छ । अब आउने खेल हाम्रो लागि फाइनलसरह हो । गौरवान्वित लाग्छ नै । सुरुवात शून्यबाटै हुन्छ । गौरव हुन्छ नै मेरो परिवार टिम र सबैका लागि ।’

सन्दीपकै उत्कृष्ट प्रदर्शनमा पपुवा न्युगिनीविरुद्ध नेपालले सानदार जित निकाल्यो । सन्दीपले १० ओभरमा एक मेडन ओभर राख्दै २५ रन खर्चिएर पाँच विकेट लिए । पपुवा न्युगिनीविरुद्ध ९ विकेटको जितपछि सन्दीपले आफ्नो प्रदर्शनबाट खुसी रहेको बताए । उनले भने, ‘वातावरण एकदमै सहज भइरहेको थियो । म आफ्नो प्रदर्शनमा खुसी छु । जति हुन सक्छ, टिमका लागि राम्रो गर्न खोज्छु जहिले पनि । जति अवसर पाउछु राम्रो गर्नेछु ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ