आगामी विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता रहने
थानकोट ।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने सन् २०२६ को फिफा विश्वकप टिम संख्या वृद्धि गरी पुरानै ढाँचामा आयोजना हुने भएको छ । यसअघि ३२ टोलीहरुले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि ४८ टोलीहरुले सहभागिता जनाउने पनि पक्का भएको हो ।
टिम संख्या वृद्धि भएपछि फिफाले १६ समूह बनाएर प्रतिस्पर्धा गराउने योजना पनि बनाएको थियो । तर रुवाण्डामा भएको फिफा कँग्रेसमा आगामी संस्करणको फिफा विश्वकप टिम बढी भए पनि पुरानै ढाँचामा आयोजना गरिने निर्णय भएको फिफाले जनाएको छ ।
यसअघिका संस्करणहरुमा चार टिम कै समूह प्रभावकारी देखिएपछि आगामी संस्करणमा चार-चार टिमकै १२ समूह बनाउने निर्णय भएको हो ।
यो निर्णयसँगै सन् २०२६ को फिफा विश्वकपमा प्रत्येक समूहबाट शिर्ष दुई टोली र तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ८ टोली गरी कुल ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । साथै प्रतियोगिता भरि कुल १०४ खेलहरु हुनेछन् ।
आगामी विश्वकप फुटबल २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडाका १९ फरक खेलस्थलहरुमा हुनेछन् ।













