नेपालले आज यूएईलाई पराजित गरे सिधै विश्वकप छनोटमा
थानकोट ।
आईसीसी विश्व क्रिकेट लिग टूको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ।
खेल त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ। नेपालले सीधै विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने या प्लेअफ, भविष्य निर्धारण यो खेलले गर्नेछ।
यूएईविरुद्ध जित निकाले नेपाल लिग टूको शीर्ष तीनमा अटाउँदै जिम्बाबेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउनेछ। त्यसैले नेपालको अन्तिम लक्ष्य जित नै हुनेछ। नतिजा यूएईको पक्षमा गए नेपाल चौथो स्थानमा यथावत् रहँदै नामिबियामा हुने प्लेअफका लागि जानुपर्नेछ।
नेपाल पराजित हुँदाको फाइदा नामिबियाले उठाउनेछ, किनकि नामिबियाले शीर्ष तीन कब्जा गर्नेछ। नेपालको अन्तिम खेल खेल्नुअघि ३८ अंक छ भने नामिबियाले ३६ खेलमा ३९ अंक बनाएको छ।
नामिबियाले १९ र नेपालले १८ खेलमा मात्र जित हात पारेका कारण अंक बराबरी भए पनि नेट रनरेटका आधारमा नाबिया जाने हो। जारी सिरिजमा नेपाल अपराजित छ। अघिल्लो खेलमा नेपालले यूएईलाई १७७ रनको कीर्तिमानी रनअन्तरले पराजित गर्दै एकदिवसीय मान्यतालाई २०२७ सम्म निरन्तरता दिन सफल भएको थियो।
नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका थिए। आज दुई विकेट लिए सन्दीपले ओडीआईमा सर्वाधिक छिटो ४१ खेलमा एक सय विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाउनेछन्।
११ हजार टिकट बिक्री
आज हुने नेपाल र यूएईबीचको खेलका लागि एघार हजार टिकट बिक्री भएको छ। नेपाल क्रिकेट संघ क्यानले, टिकट बिक्री बन्द भएको जनाएको छ। टिकटको अत्यधिक माग भए पनि थेग्न नसक्ने अवस्था आएपछि बिक्री रोकिएको जनाइएको छ। दश हजार अनलाइन र एक हजार फिजिकल टिकट बिक्री भएको हो। क्यानले अतिथिका लागि पाँच सय पास वितरण गरेको छ।
आज नेपाली क्रिकेट इतिहासकै सर्वाधिक समर्थक त्रिवि मैदानमा पुग्ने क्यानको अनुमान छ। उपत्यका बाहिरबाट पनि प्रत्यक्ष खेल हेर्न समर्थक आइरहेका छन्। नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै लिग टूअन्तर्गत पछिल्ला एघारमध्ये दश खेल जितेकाले मैदानमै पुगेर खेल हेर्ने समर्थकको संख्या बढेको हो।
त्रिवि मैदानको दर्शक क्षमता १४ हजार मानिन्छ। क्यानले आजको खेलको टिकटबाट प्राप्त हुने सबै रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने जनाएको छ। टियुमा सुरक्षा व्यवस्था पनि कडा गरिएको छ । नेपाल प्रहरी र एपीएफ गरी करिब डेढ सय सुरक्षाकर्मी त्रिवि मैदानमा खटिनेछन्। बिहान आठ बजेदेखि समर्थकलाई मैदान प्रवेश गराइने क्यानको भनाइ छ।













