स्वीकृति नलिने पात्रो र भित्तेपात्रोलाई १ लाख रुपैयाँसम्म जरिवाना गरिने

Thankot Times

थानकोट ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेन्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म कारबाही गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन २०७९ स्वीकृत गरी विधिसम्मत रूपमा प्रकाशन नहुने भित्तेपात्रो र पात्रोका सञ्चालकलाई कानूनी कारबाही गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले विक्रम संवत् २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी नेपाल राज्यभरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोको स्वीकृति दिने अधिकार समितिलाई दिएको थियो । गठन आदेश सरकारले २०७८ साउनमा नेपाल राजपत्रमा प्रकाशन गरेको थियो ।

समितिको स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अनुगमन गर्न मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डा. सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय अनुगमन समिति गठन गरिएको छ । समितिमा गृह मन्त्रालय, आन्तरिक व्यवस्था महाशाखाका उपसचिव भीमकान्त शर्मा, संस्कृति मन्त्रालयका उपसचिव पुण्यमाया गुरागाईं, समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल र पञ्चाङ्गकार मुरारीराज पाण्डे सदस्य रहेका छन् ।

समितिले आवश्यकता अनुसार उपसमिति पनि गठन गर्न सक्ने व्यवस्था दिग्दर्शनमा गरिएको छ । दिग्दर्शनमा विद्युतीय पात्रो र भित्तेपात्रोले पनि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

अनुगमनका क्रममा स्वीकृति नलिएको पाइएमा कानूनअनुसार विद्युतीय पात्रो र भित्तेपात्रोलाई पनि कारबाही गरिने समितिका कार्यकारी निर्देशक ढुंगेलले बताए ।

अनुगमन समितिले अनधिकृत रूपमा ७७ जिल्लाबाटै प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अध्ययन गरी सूचना संकलन गर्ने भएको छ । यसका लागि संस्कृति मन्त्रालयले गृह मन्त्रालयमार्फत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्ने तयारी गरेको छ ।

समितिमा हालसम्म आगामी वर्ष २०८० का लागि १५० भित्तेपात्रोले स्वीकृति लिएका छन् । हाल अनलाइनमार्फत स्वीकृति लिने भित्तेपात्रोको संख्या बढिरहेको कार्यकारी निर्देशक ढुंगेलले बताए । समितिको स्वीकृति लिएर १५ वटा पात्रो भने गत माघमै प्रकाशन भइसकेका छन् ।

रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ