विशिष्ट व्यक्तिको सवारी हुँदा अब सडक खाली नगराइने
थानकोट ।
नेपाल सरकारले विशिष्ट पदाधिकारीहरूको सवारीले सडकमा सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो बढेपछि सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्दैछ ।
गृह मन्त्रालयले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ को परिमार्जन मस्यौदा तयार गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि कार्यविधि कार्यान्वयनमा आउनेछ ।
कार्यविधि परिमार्जनका लागि गृहले सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गरेको थियो । छलफलका क्रममा राष्ट्रपति पौडेलले बदलिँदो शासकीय शैलीअनुसार कार्यविधि परिमार्जन गर्न सुझाव दिएका थिए नयाँ पत्रिकामा खबर छ ।
गृहका अनुसार कार्यविधिमा विशेषगरी विशिष्ट व्यक्तिको राजकीय, औपचारिक र कार्यालयीय सवारीलाई परिमार्जन गरिएको छ । परिमार्जित कार्यविधिअनुसार अब राजकीय, औपचारिक र कार्यलयीय सवारीमा सडक खाली गरिनेछैन । आवागमन अवरुद्ध गरिनेछैन् । कारगेडमा मोटरसाइकल र गाडीका लावालस्कर पनि हुनेछैनन् । तर, सवारी हुने रुटमा सुरक्षा व्यवस्था भने कडा बनाइनेछ । सवारी हुने रुटमा देखिनेभन्दा पनि नदेखिने सुरक्षाकर्मी ज्यादा परिचालन हुनेछन् ।













