नेपाललाई प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि, लाओस २-१ गोलअन्तरले पराजित
थानकोट ।
प्रधानमन्त्री थ्री नेशन्स कप फुटबलको उपाधि घरेलु टोली नेपालले जितेको छ।
शुक्रबार साँझ दशरथ रंगलाशामा सम्पन्न प्रतियोगिताको फाइनलमा लाओसलाई २-१ गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो।
प्रतिस्पर्धात्मक खेलको १७औँ मिनेटमा लाओसका फउट्टहाभोङ सानगभसलेले नेपालविरुद्ध अग्रता दिलाएका थिए। खेलको २३औँ मिनेटमा मणि लामाको क्रसमा सनिस श्रेष्ठले गरेको प्रहारको लाओसका गोलकिपर क्षेसाभातले उत्कृष्ट बचाउ गरेका थिए।
२४औँ मिनेटमा आयुस घलानले उत्कृष्ट फिनिसिङ गर्दै खेल बराबरीमा ल्याए।
नेपालका लागि ८७औँ मिनेटमा मनीष डाँगीले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए।
मनीषको गोल नै नेपालको जितका लागि निर्णायक बनेको थियो।
प्रतियोगिता नेपाल, लाओस तथा भुटानको सहभागिता रहेको थियो ।













