उपनिर्वाचनका लागि चैत २३ देखि आचारसंहिता लागु हुने

Thankot Times

थानकोट । 

वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत २३ गते बिहीबारदेखि आचारसंहिता लागु हुने भएको छ।

निर्वाचन आयोगका अनुसार बिहीबारदेखि आचारसंहिता लागु गर्ने तयारी छ। आयोगको पदाधिकारी बैठकबाट निर्णय भएपछि तोकिएका क्षेत्रमा आचारसंहिता लागु हुनेछ।

तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो।

तीनै क्षेत्रमा गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

बारा २ मा ३६ जना, चितवन २ मा २४ जना र तनहुँ १ मा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

बारामा २४ जना स्वतन्त्र उम्मेदवार छन् जबकी विभिन्न दलबाट यहाँ १२ जनाको मात्र उम्मेदवारी परेको छ।

चितवनमा पनि १२ जना स्वतन्त्रले उम्मेदवारी दर्ता गरेका छन्। तनहुँमा भने स्वतन्त्र उम्मेदवारी परेको छैन्।

यही चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। आयोगका अनुसार सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्हसमेत दिइनेछ।

गत मंसिर ४ को चुनावमा तनहुँ १ बाट तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र बारा २ बाट तत्कालीन जसपा नेता रामसहायप्रसाद यादव प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

पौडेल गत फागुन २५ मा राष्ट्रपति र यादव चैत ३ मा उपराष्ट्रपति बनेका थिए भने लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले उनको पद बदर गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *