ट्वीटरको निलो चराको स्थानमा ‘पहेंलो कुकुर’
थानकोट ।
सामाजिक सञ्जाल ट्वीटरको लोगो फेरिएको छ ।
यसअघि निलो चरा रहेकोमा अब पहेँलो कुकुर राखिएको छ ।
ट्वीटर खरिद गरी स्वामित्व लिएका एलन मस्कले आफ्नो ट्वीटर ह्याण्डलमा एक तस्वीर (कार्टुन) राखेर यसबारे जानकारी दिएका छन् ।
मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।
अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ ।
यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ ।












