थानकोट क्षेत्रमा सस्तो दरमा डलर साट्ने प्रलोभन देखाउँदै ठगी गर्ने ५ जना समातिए

Thankot Times

थानकोट । 

अमेरिकी डलर देखाइ लुटपाट गर्ने समूह पक्राउ परेको छ ।

थानकोट तथा गोकर्णेश्वर लगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने भन्दै श्रृङखलावद्ध रुपमा ठगी गर्ने कार्यमा संलग्न रहेका ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धादिङ सुनौलो बजार गाउँपालिका वडा नं. ७ घर भई ललितपुर चापागाँउ बस्ने ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ५ का २४ वर्षीय विकाश तामाङ र २८ वर्षीय साजन तामाङ, धनकुटा बेलाराका ३२ वर्षीय दिपक दमाई र सिन्धुपाल्चोक बाह्रबिसेका ३५ वर्षीय प्रेम बहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई मंगलबार काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका अत्तरखेल र नाम्खेलबाट प्रहरीले पक्राउ गरेको हो । ५ जनालाई नियन्त्रणमा लिई ठगि मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुले पीडित व्यक्तिहरुलाई पटकपटक फोनमार्फत सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पार्ने गरेको पाइएको छ । प्रहरीका अनुसार १ र ५० दरका अमेरिकी डलर पीडित पक्षलाई प्रत्यक्ष देखाई विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका साँघुरा गल्ली, पातलो मानवबस्ती र जंगल आसपासको स्थानमा बोलाई पीडित पक्षलाई झुक्यानमा पारी डलर भनि रु ५, १०, २० र नेपाली नोट बराबरको कागज काटी रुमालमा पोको पारी दिई पीडितसँग भएको लाखौ रुपैँया लुटपाट गरी फरार हुने गरेको पाइएको छ ।

ठगी तथा लुटपाटमा संलग्न हुने त्यस्ता व्यक्तिहरुले विभिन्न नम्बरका मोबाईलहरु प्रयोग गर्ने र घटना पश्चात प्रयोग गरेका मोबाइलहरु पुनः प्रयोग नगर्ने गरेको साथै पीडितसँग त्यस्ता व्यक्तिहरुको हुलिया मात्र थाहा हुने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुले हालसम्म उपत्यका र उपत्यका बाहिरसमेत गरी विभिन्न ६ वटा यस्तै प्रकृत्तिका ठगि घटनामा संलग्न रहेको खुलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ