सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ ५ बजे सार्वजनिक हुने
थानकोट ।
सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने भएको छ ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।
उनले साना केही सुझावहरू आज बेलुकी ५ बजेसम्म दल र नेताहरूले दिन सक्ने र ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको बताए ।
उनले भने, ‘राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमका बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ । सानातिना सुझावहरू केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको विषय र सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ ।’
महासचिव गुरुङले आजको बैठकमा मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे ।
सरकारले साँझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नेछ ।













