दोल्ती पावरको आईपीओ आजबाट बिक्री खुला, वैशाख ३ गतेसम्म आवेदन पेश गर्न सकिने
थानकोट ।
दैलेख जिल्लामा ४.५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरी ०७६ पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत अर्थात् १६ करोड नौ लाख ४५ हजार ८०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख नौ हजार ४५८ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्ट्याएको थियो । जसमध्ये पाँच करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको पाँच लाख ३६ हजार ४८६ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको थियो ।
एक करोड सात लाख २९ हजार ८०० रुपैयाँ बराबारको एक लाख सात हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ । ६८ लाख एक हजार ७०० रुपैयाँ बराबरको ६८ हजार १७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।
लगानीकर्ताले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओका लागि न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले आउँदो वैशाख ३ गतेसम्म आवेदन दिनसक्नेछन् । उक्त अवधिसम्म मागानुसार आवेदन नपरे वैशाख १२ गतेसम्म आईपीओमा आवेदन खुला रहने कम्पनीले जनाएको छ ।
यो विद्युत आयोजना निर्माण गर्न एक अर्ब आठ करोड २२ लाख ९० हजार रुपैयाँ लागत लागेको कम्पनीले जनाएको छ । यो आयोजना निर्माण गर्न विद्युत् खरिद सम्झौता गर्दा समयमा ७८ करोड ४७ लाख २८ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यो कम्पनी चार करोड ७७ लाख ५३ रुपैयाँ नोक्सानीमा छ ।














