सशस्त्र प्रहरी बलको फेसबुक पेजमा भियतनामी भाषामा पोस्ट !
थानकोट ।
सशस्त्र प्रहरी बल नेपालको आधिकारिक फेसबुक पेजमा अनावश्यक पोस्ट गरिएको छ ।
मंगलबार सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेजमा राखिएको पोस्ट भियतनामी भाषामा लेखिएको छ । बिहान १० बजेर ५९ मिनेटमा लेखिएको सो पोस्टको नेपाली अर्थ ‘जो गत शरद् मा फर्किए’ भन्ने हुन्छ ।
यसबारे बुझ्दा सशस्त्र प्रहरी बलका वरिष्ठ उपरिक्षक एवं प्रवक्ता राजेन्द्र खड्काले फेसबुकमा पोस्ट भएको देखिएको र टेक्निकल टिमले काम गरिरहेको बताएका छन् । उनले भने, “त्यो एउटा अनावश्यक पोस्ट भएको रहेछ, अहिले हाम्रो आईटी सेक्सनले हेर्दै छ ।”
फेसबुकमा अनावश्यक पोस्ट भएको देख्न बित्तिकै डिलिट गर्न सकिन्छ । तर, यो समाचार तयार पार्दासम्म पोस्ट भएको चार घण्टा भइसकेको छ ।
त्यसैले पोस्ट मात्रै भएको हो कि पेजको पहुँच नै गुमेको हो भनेर प्रश्न गर्दा भने उनले अस्पष्ट जवाफ दिए ।
सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक एवं प्रवक्ता खड्काले भने, “टोलीले काम गरिरहेको छ, यसबारे केहीबेरमा के भएको हो भन्ने थाहा होला । अरू सबै ठिक छ, फेसबुकमा मात्र समस्या आएको हो, समस्या के हो भन्ने जानकारी आएको छैन् ।”












