एसीसी प्रिमियर कप मूलपानी मैदानमा हुने नेपालको खेलमा प्रवेश नि:शुल्क
थानकोट ।
वैशाख पहिलो सातादेखि नेपालमा हुने एसीसी प्रिमियर कपअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने नेपालको खेल हेर्न दर्शकले नि:शुल्क प्रवेश पाउने भएका छन् ।
वैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा हुने तय भएको छ । जसअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने खेलहरूमध्ये नेपालको खेलमा दर्शकहरूलाई खेल हेर्नका लागि कुनै शुल्क नलिइने नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए ।
“कागेश्वरी–मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीज्यूले मूलपानीमा हुने नेपालको खेल नि:शुल्क गर्न आग्रह गर्नुभएको थियो । क्यानले मेयरज्यूको आग्रह स्वीकार गरेर मूलपानीमा हुने नेपालको खेल हेर्नका लागि दर्शकलाई टिकट शुल्क नलिई नि:शुल्क प्रवेश दिने निर्णय गरेका हौँ,” पाठकले भने, “नेपालबाहेक अन्य टिमको खेलमा पनि मूलपानीमा नि:शुल्क प्रवेश दिने भन्ने कुरा उठेको छ । तर, यसबारे निर्णय भइसकेको छैन । मूलपानीमा हुने नेपालको खेल हेर्नका लागि भने दर्शकले टिकट काट्नुपर्दैन ।” बाह्रखरीमा समाचार छ ।
कार्यवाहक सचिव पाठकले कीर्तिपुरमा हुने खेलहरूमा टिकट काट्नुपर्ने भए पनि टिकट मूल्य भने हालसम्म तय भइ नसकेको बताए ।













