काठमाडौंमा गर्मी बढ्यो, तत्काल पानी पर्ने सम्भावना छैन्, अस्वस्थकर बन्यो वायु
थानकोट ।
काठमाडौं उपत्यकामा पछिल्लो साता गर्मी बढेको छ । औषत तापक्रम केही बढेको र केही दिनयता देशभर पर्याप्त वर्षा नभएका कारण गर्मी महसुस भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यसअघि अप्रिल महिनाको औषत तापक्रम २८.२ डिग्री सेल्सियस रहँदै आएको छ । यो तापक्रम आइतबार २९.५ र सोमबार २९.८ डिग्री पुगेको छ । पछिल्लो तीन दिनयता देशभर वर्षा नभएका कारण पनि गर्मी बढेको मौसमविद् सुदर्शन हुमागाईँ बताउँछन् ।
उनका अनुसार पछिल्लोपटक सुदूरपश्चिमको बझाङमा १० मिलिलिटर मात्रै वर्षा भएको रेकर्ड छ । आगामी तीन दिनसम्म पनि काठमाडौंमा वर्षाको सम्भावना छैन ।
पर्याप्त वर्षा नभएसँगै काठमाडौंको वायु अस्वस्थकर बनेको छ । आइक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक (एक्यूआई) १५० यूएस एक्यूआईभन्दा माथि छ । आईक्यूएयरको मंगलबार २ः४५ बजे अमेरिकन एम्बेसी अगाडिको मापन यन्त्रले देखाएको वायु प्रदूषणको मात्रा १५३ यूएस एक्यूआई छ । त्यस्तै, सल्लाघारी भक्तपुरको १७३, मध्यपुर थिमीको १६५ यूएस एक्यूआई देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार एक्यूआई ५० सम्मको वायुलाई स्वस्थकर मानिन्छ । योभन्दा बढी एक्यूआई रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ ।
एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । यो एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ ।













