एसिड आक्रमणपीडित विन्दबासिनी कंसाकारलाई सांसद बनाउँदै रास्वपा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले एसिड आक्रमणपीडित विन्दबासिनी कंसाकारलाई समानुपातिकतर्फबाट सांसद बनाउने भएको छ ।
रास्वपाले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्दै कंसाकारलाई सांसद बनाउने निर्णय लिएको हो ।
श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । सोही प्रकरणमा रास्वपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । त्यससँगै श्रेष्ठको सांसद पद पनि गएको छ ।
श्रेष्ठ कारबाहीमा परेसँगै मकवानपुरकी स्थानीय कंसाकारलाई सांसद बनाउने रास्वपाले निर्णय गरेको हो । कंसाकारले केही समय कुमारी बैंकमा कामसमेत गरेकी थिइन् ।
कंसाकार २०७० वैशाखमा एसिड आक्रमणमा परेकी थिइन् । पसलमा बसिरहेको अवस्थामा दिलिपराज केशरी नामक भारतीयले कंसाकारलाई एसिड आक्रमण गरेका थिए ।
दुई महिनाअगाडि कंसाकारलाई रास्वपाले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।














