ट्रेकिङ जाँदा गाइड र पोटरलाई १० लाखको बीमा पर्यटकले नै गरिदिनुपर्ने
थानकोट ।
पदयात्राका लागि जाने पर्यटकले नै गाइड (पथप्रदर्शक)देखि पोटर (कामदार)सम्मलाई १० लाख रुपैयाँ बराबरको बीमा गरिदिनुपर्ने भएको छ । गण्डकी प्रदेश पर्यटन ऐन, २०७९ लाई टेकेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश पर्यटन नियमावली जारी गरेको छ ।
गएको चैत ३० गते राजपत्रमा प्रकाशित नियमावली अनुसार गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा ट्राभल वा ट्रेकिङका लागि जाँदा पर्यटकले व्यक्तिगत दुर्घटना बीमा बापतको शुल्क बेहोर्नुपर्ने व्यवस्था थपिएको हो । जसअनुसार पदयात्रा सुरु भएर समाप्त नहुँदासम्म पर्यटकले आफ्नो साथमा जाने पथप्रदर्शकदेखि साथमा जाने अन्य सहयोगीहरूको बीमा गरिदिनुपर्ने हुन्छ ।
नियम १३ को उपनियम १ अनुसार, “पर्यटकले ट्राभल वा ट्रेकिङका लागि प्रस्थान गर्नुअघि आफ्नो साथमा जाने कामदारको नाइके तथा कामदारलाई ट्राभल वा ट्रेकिङ एजेन्सीको अभियान समाप्त गरी नफर्केसम्मका लागि नेपालभित्र संस्थापित बीमा कम्पनीबाट दस लाख रुपैयाँमा नघट्ने गरी दुर्घटना बीमा गराउनुपर्नेछ ।”
केही दिनअघिमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी पर्यटकका लागि लिइँदै आएको टिम्स कार्डको मूल्य बढाउने खालको पदयात्री सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको थियो ।
संघले बनाएको उक्त मापदण्ड अनुसार टिम्स कार्ड नबोकी र गाइड नलिई पदयात्रामा निस्किने पर्यटकलाई जरिबाना तिराउने उल्लेख छ । ट्रेकिङ कम्पनीमार्फत टिम्स कार्ड लिनुपर्ने व्यवस्था मापदण्डमा छ बाह्रखरीमा खबर छ ।













