महालेखाको प्रतिवेदनः आर्थिक अनुशासन पालनामा नागार्जुन उपत्यकाकै अग्रणी, चन्द्रागिरि दशाैं

Thankot Times

थानकोट । 

नागार्जुन नगरपालिका उपत्यका भित्रका स्थानीय तहमध्ये आर्थिक अनुशासन पालनामा अब्बल देखिएको छ । महालेखा परीक्षकको ६०औँ प्रतिवेदन २०७९, अनुसार आर्थिक वर्ष २०७८।७९ मा लेखापरीक्षण रकमको आधारमा उपत्यकाका तीन जिल्लाहरू भित्र रहेका पालिकाहरूमध्ये नागार्जुनको सबैभन्दा न्यून बेरुजु देखिएको हो । 

नागार्जुन नगरपालिकाको आर्थिक वर्ष २०७८।७९ मा  दुई अर्ब सतहत्तर करोड बाह्र लाख चौबिस हजार रकमको लेखापरीक्षण भएकोमा ६० लाख ९४ हजार अर्थात् ०.२२ प्रतिशत रकम बेरुजु कायम भएको गत चैत्र ३० गते महालेखा परीक्षकबाट राष्ट्रपति समक्ष पेस भएको प्रतिवेदनमा उल्लेख छ । 

नगरपालिकाको स्थापनाकाल आर्थिक वर्ष २०७२।७३ देखि हालसम्मको बेरुजुको अभिलेख अद्यावधिक गरी बेरुजु असुल, फर्छ्यौट गर्ने कार्यमा नगरपालिकाले प्राथमिकता दिई कार्य गरेको हुँदा यस वर्ष मात्रै  गत विगत आर्थिक वर्षको करिब १८ करोड १७ लाख बेरुजु संपरीक्षण भएको नगरपालिकाका आ.ले.प. अधिकृत प्रेम बहादुर गिरीले बताए खबर प्रशासनमा प्रकाशित छ । यस आर्थिक वर्षमा देखिएको ६० लाख ९४ हजार बेरुजु पनि गम्भीर प्रकृतिको नभएको र पेस्की फर्छ्यौट तथा कर समायोजन पत्र लगायतका प्रमाण पेस गर्नको लागि सम्बन्धितलाई पत्राचार गरी सकेकोले प्रमाण सङ्कलन गरी सम्परीक्षणको लागि आगामी डोर समक्ष पेस गरिने गिरीको भनाई छ । ‘हामी शून्य बेरुजु भएको नगरपालिका कायम गर्ने अभियानमा छौँ’ उनले भने । 

नगरपालिकाका अधिकृत छैटौँ नारायण प्रसाद तिमिल्सिनाका अनुसार नगर प्रमुखले नगरपालिकालाई शून्य बेरुजु कायम गर्न निर्देशन दिएको र सोही अनुसार कर्मचारीको टोली लक्ष्य प्राप्तिको लागि पुराना कागज प्रमाणहरूको खोजी गरी अभिलेख अद्यावधिक गरिरहेका छन् । साथै सम्बन्धित व्यक्ति, फर्म, संस्थाहरूलाई पनि आ-आफ्नो नाममा रहेको बेरुजु असुल फर्छ्यौटको लागि पत्राचार गर्ने कार्य गरी रहेका तिमिल्सिनाको भनाई छ । 

यसैगरी आर्थिक वर्ष २०७८।७९ मा उपत्यका स्थित अन्य पालिकाहरूमा चन्द्रागिरि नगरपालिकाको १.६१ प्रतिशत, कागेश्वरी मनोहरा नगरपालिकाको ३.०९ प्रतिशत, दक्षिणकाली नगरपालिकाको २.०२ प्रतिशत, टोखा नगरपालिकाको ०.५९ प्रतिशत, गोकर्णेश्वर नगरपालिकाको २.६५ प्रतिशत, तारकेश्वर नगरपालिकाको ०.६१ प्रतिशत र काठमाडौँ महानगरपालिकाको २.६ प्रतिशत, रहेको छ । 

यस्तै कीर्तिपुर नगरपालिकाको २.६१ प्रतिशत, बुढानीलकण्ठ नगरपालिकाको २.१९ प्रतिशत, शंखरापुर नगरपालिकाको १.०१ प्रतिशत, सूर्य विनायक नगरपालिकाको १.०२ प्रतिशत, मध्यपुर ठिमी नगरपालिकाको १.२७ प्रतिशत, चाँगुनारायण नगरपालिकाको २.२५ प्रतिशत र भक्तपुर नगरपालिकाको १.५६ प्रतिशत छ । यसैगरी ललितपुर महानगरपालिकाको ७.०४ प्रतिशत, गोदावरी नगरपालिकाको २.७२ प्रतिशत, महालक्ष्मी नगरपालिकाको १.५८ प्रतिशत, बागमती गाउँपालिकाको ६.७९ प्रतिशत, महांकाल गाउँपालिकाको ०.७७ प्रतिशत र कोन्ज्योसोम गाउँपालिकाको ४.५८ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको ६०औँ प्रतिवेदनमा उल्लेख छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ