मातातीर्थ मेलाका लागि तयारी तिव्र, स्नान गर्न डिप बोरिङको पानी (भिडियोसहित)
थानकोट ।
वर्षेनी बैशाख कृष्णपक्ष औँशीका दिन चन्द्रागिरि नगपालिका-०६ मातातीर्थमा लाग्ने मेलाको तयारी तिव्र रूपमा अघि बढिरहेको छ ।
यसपटक बैशाख ७ गते मातातीर्थ कुण्ड क्षेत्रमा मेला लाग्दैछ । सो मेला व्यवस्थापनका लागि मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरेर मेलाको तयारी जारी राखिएको छ।
मेला व्यवस्थापन मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति लगायतका विभिन्न उपसमितिले मेला व्यवस्थपानमा सहजीकरण गर्ने अध्यक्ष उदासले जानकारी दिनुभयो ।
वैशाख ६ गते साँझ बत्ती बाल्ने र भोलिपल्ट औँशीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्नेछ ।
यसपटक करिब ५ लाख श्रद्धालुहरू यस तीर्थस्थलमा उपस्थित हुने अपेक्षा लिएको मातातीर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ ।
सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ ।
पछिल्लो समय यस क्षेत्रमा पानीको मूल सुकेको कारण श्रद्धालुहरूका लागि डिपबोरिङको पानीले स्नान गर्ने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ । जसका लागि स्थानीय महादेवस्थान-मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सहयोग मागिएको अध्यक्ष उदासले जानकारी दिनुभयो ।













