राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । राष्ट्रपति पौडेललाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी भएको हो ।
छातीमा संक्रमण देखिएपछि अघिल्लो साता तीन दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर राष्ट्रपति पौडेलले उपचार गराएका थिए । त्रिवि शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भए पनि अपेक्षित सुधार भने हुन सकेन । उनलाई थप समस्या भएपछि मंगलबार पुनः अस्पताल भर्ना गरिएको थियो ।
राष्ट्रपति पौडेलको छातीमा देखिएको संक्रमणका लागि चिकित्सकले एन्टिबायटिक पनि चलाएका थिए । तर, त्यसले पनि अपेक्षित काम नगरेपछि परिवारका सदस्यले थप उपचारका लागि भारत लैजान चाहेका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलको उपचारका लागि भारत लैजान सरकारले समन्वय गरिरहेको छ ।
मंगलबार साँझ मन्त्रिपरिषद्को बैठकलगत्तै सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पठाएको थियो ।
त्यही बेला परिवारका सदस्यले पौडेललाई दिल्ली लैजानेबारे रक्षामन्त्री खड्कासँग छलफल गरेको बताइएको छ ।
सरकारले एयर एम्बुलेन्सको व्यवस्था गरेर राष्ट्रपति पौडेललाई दिल्ली पठाउने तयारी गरेको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले एम्स अस्पतालका चिकित्सकसँग समन्वय पनि थालिसकेका छन् । छातीमा संक्रमण देखिएपछि उपचार निगरानीमा रहेका राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपमा पनि गएका थिए । त्यसक्रममा छातीमा जमेको पानी निकालेर परीक्षण गरेको बताइएको छ ।













