कथा अनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औंसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई ‘मातातीर्थ’ नामकरण गरियो ।
यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।
किंवदन्ती–२
भगवान् विष्णुका सातौं अवतार भनिने मर्यादा पुरुषोत्तम राम वनवासका क्रममा घुम्दै मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाका बीच घनघोर युद्ध भयो ।
त्यहीबेला रामकी पत्नी सीतालाई प्यास लाग्यो । पानी खोज्दा कतै नभेटिएकाले रामले गंगामाताको स्तुति गरे । तीनपटक ‘माता गंगासमो तीर्थ पिता पुष्करमेव चः’ भन्ने मन्त्रोच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो ।
त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाइन् । ब्रह्माण्डको दर्शन गर्दा उनको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो ।
त्यतिबेला त्यहाँ घना जंगल थियो । एकपटक गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाँदै थिए । संयोगवश एउटा गोठालो मुखमा रोटी नपर्दै कुण्ड भएतिर मात्र के गएको थियो उसले कुण्डभित्र आफ्नी आमाको दर्शन पायो । घर फर्कने बेलामा गोठालाले एक्लै फर्कन नमानेको र आमासँगै जाने इच्छा गरेकाले आमाले छोरालाई भनिन्, ‘अहिले तिमी हामीसित जान मिल्दैन । बरु मेरो दर्शन गर्न प्रत्येक वैशाख औंसीको दिन आउनू ।’
उक्त दिन हरेक आमा गुमाएका सन्तानले यही कुण्डमा आफ्नी आमाको आकृति देख्न सक्छन् भन्ने जानकारी दिएर आमाले गोठालो छोरालाई फकाई फुल्याई बिदा गरिन् । त्यति बेलैदेखि हरेक वर्ष त्यहाँ मेला लाग्न थालेको किंवदन्ती छ ।
आमाको पवित्रस्थल भएकाले उक्त ठाउँको नाम ‘मातातीर्थ’ रहन गयो । त्यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आत्माले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास रहीआएको छ ।












