आज मुस्लिम समुदायले इदुलफित्र मनाउँदै
थानकोट ।
ईस्लाम धर्मावलम्बीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ ।
यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।
एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा उनीहरु दिनमा निराहार बस्छन् । बिहानको समय ३ : २० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।
रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्नेले हिजो साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन छ ।
रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।
इदुलफित्र मनाउनका लागि आज मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन्













