तीन निर्वाचन क्षेत्रमा आज उपनिर्वाचन, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने
थानकोट ।
आज तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले बारा संघीय निर्वाचन क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ ।
आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको आयोगले जनाएको छ ।













