बागमती प्रदेशमा खरको छानामुक्त घर कार्यक्रम सुरु हुँदै
थानकोट ।
बागमती प्रदेशमा खरको छाना मुक्त घर कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलय यस सम्बन्धी कार्यविधि स्वीकृत गरेर खरको छानामुक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
प्रदेशमा अझैपनि खरको छानामुनी बस्न बाध्य भएका परिवारलाई लक्षित गरी प्रदेश सरकारले बजेट ल्याएको र कार्यान्वयनमा लैजान लागिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।
यस सम्बन्धी कार्यविधि मन्त्रीले स्वीकृत गरेर कार्यान्वयनको चरणमा लगिएको हो । खरको छानामुक्त कार्यक्रमबाट स्थानीय स्तरमा आफ्नो नाममा जग्गा भएका लोपन्मुख दलित, जनजाती, सिमान्तकृत, विपन्न र पिछडिएका वस्तीहरुमा खरको छाना मुक्त गर्ने उदेश्यले यो कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ ।
मानव विकास सूचाङ्कमा सबैभन्दा कमजोर भएका स्थानमा प्राथमिकता दिइने भएको छ ।
खरको छाना हुँदा, हावाहुरी, आगलागी जस्ता समस्या धेरै हुने भएकाले खरको छानामुक्त गर्न लागिएको हो ।













