कीर्तिपुरमा फलामको खोरमा परेको चितुवा वन कार्यालयको जिम्मा लगाइयो
थानकोट ।
त्रिभुवन विश्वविद्यालय क्षेत्रबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ ।
एक महिनाअघिदेखि सो क्षेत्रमा आतंक फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ ।
विश्वविद्यालयको बाटो हुँदै साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमण समेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालयनजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार चितुवाले गएको चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई)लाई समेत आक्रमण गरेको थियो । करिब एक महिनाअघि चितुवा त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग जुधेको थियो ।
त्रिवि केन्द्रीय क्याम्पसका प्राचार्य ज्ञानेन्द्र राईका अनुसार करिब एक वर्षअघिदेखि जनस्तर र त्रिवि कर्मचारीले चितुवाको जोखिमबारे कुरा उठाउँदै आएका थिए । त्यसपछि वन्यजन्तुसम्बद्ध निकायबाट पासो ल्याएर राखिएको थियो । तत्कालीन समयमा सो बाघ पासोमा नपरेपछि केही समय पासो अन्यत्र लगिएको थियो । केही समयअघि फेरि पासो थापिएको उनले बताए ।
चितुवाको आवतजावत हुनुमा नजिकको जंगल, त्रिवि परिसरका विभिन्न स्थानमा रहेका झाडी भएको प्राचार्य राईले बताए । “यहाँ छाडा छोडिएका बहर र कुकुरका कारण पनि तिनको सिकार गर्न चितुवा आउँछन् । यसले गर्दा मानवसँग द्वन्द्व हुने खतरा बढेको छ,” उनले भने ।
पासोमा परेको चितुवाबारे वन्यजन्तुसम्बन्धी निकायमा खबर गरिएको र कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष नरेश महर्जन समेतको रोहबरमा बुझाइने प्राचार्य राईले जानकारी दिए ।
चितुवाको आवतजावत कम गराउन त्रिवि परिसरका झाडी फँडान गर्ने र मानिसको आवजजावत हुने सबै स्थानमा बत्ती जडान गर्ने कार्य भइरहेको पनि उनले बताए । रासस
तस्बिरः वीरेन्द्र शाक्य













