चन्द्रागिरि नगरमा पनि सुरू भयो पुनः श्रम स्वीकृतिका लागि सहजीकरण सेवा
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले पनि पुनः श्रम स्वीकृतिका लागि सहजीकरण सेवा दिन सुरु गरेको छ ।
नगरपालिकाले आइतबारदेखि पुनः श्रम स्वीकृतिका लागि सहजीकरणका लागि सेवा दिन सुरु गरेको हो । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरेको रोजगार सेवा केन्द्रबाट पुनः श्रम स्वीकृति लिने प्रकृयाका लागि सहजीकरण सेवा लिन सक्ने नगरपालिकाले जनाएको छ ।
१६ चैतमा नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)को मन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।
वैदेशिक रोजगार ऐन तथा वैदेशिक रोजगार नियमावलीमा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधान छ ।
सोहीअनुरुप सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रूपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।
स्थानीय तहबाटै श्रम स्वीकृतका सेवा सुरु भएपछि वैदेशिक रोजगारीमा जान जाने नेपाली श्रमिकलाई सुविधा हुने भएको छ ।
नगरपालिकाले पुनः श्रम स्वीकृति लिनका लागि राहदानीको सक्कल, प्रवेशाज्ञा (भीसा) को सक्कल, कार्यरत संस्थासँग भएको सम्झाैताको पत्र तथा यसअघि नै अनलाइन आवेदन मार्फत श्रम स्वीकृति लिएको भए सो को विवरण उल्लेख गर्नुपर्ने जनाएको छ ।













