बागमती प्रदेशसभाबाट दुई विधेयक पारित
थानकोट ।
बागमती प्रदेशबाट दुई विधेयक बहुमतले पारित भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साविकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज साँझ बसेको बैठकले पारित गरेको हो ।
ती दुवै विधेयकको सैद्धान्तिक पक्षमा मात्रै छलफल भएको थियो । आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा छलफलमा उठेका प्रश्नको उत्तर दिँदै चिठ्ठाको व्यवस्थापन सम्बन्धमा व्यक्तिको सट्टा संस्थालाई चिठ्ठा सञ्चालन गर्न अनुमतिपत्र दिन उपयुक्त हुने सदस्यहरूको सुझावलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे ।
उनले चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्न आवश्यक देखिएको हुँदा समाजमा विकृति र असामाजिक गतिविधिलाई नियन्त्रणमा ल्याउन आवश्यक भएअनुसार सरकारले विभिन्न विशेषज्ञसँग विचारविमर्श गरी ऐनको तर्जुमा गरिएकाले कुनै राजनीति दलको स्वार्थको लागि उक्त विधेयक नल्याइएको स्पष्ट पारे ।
उक्त बैठकमा चिठ्ठाको नियन्त्रण तथा व्यवस्थापन विधेयकमाथि रामेश्वर श्रेष्ठ, केशव पौडेललगायतले सुझाव प्रस्तुत गरेका थिए ।
रासस













