एसीसी प्रिमियर कपः नेपाल र कतारबीचको खेल आज, खेल जित्दै समुह विजेता बन्ने दाउमा नेपाल
थानकोट ।
काठमाडाैंमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समुह चरणको अन्तिम खेलमा आज नेपालले कतारसँग खेल्दैछ।
समूह ए मा रहेको नेपालले समूह विजेता बन्दै सेमिफाइनल खेल्न आज कतारलाई हराउनुपर्नेछ। यसअघि नै सेमिफाइनल पुगिसकेको नेपालले आज कतारलाई हराए ७ अंकमा समूह विजेता बन्नेछ।
खेलमा अंक बाँड्नुपर्ने अवस्थामा पनि नेपाल समूह विजेताको हैसियतमा फाइनल प्रवेशका लागि खेल्नेछ।
तर हारेको अवस्थामा भने नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल खेल्नेछ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
समूह ए बाट ओमानले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।
नेपाल ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ।
आज नै मूलपानी मैदानमा हुने हङकङ र कुवेतबीचको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।
यो खेलसँगै नेपालले सेमिफाइनलमा खेल्ने टोलीको टुंगो लाग्नेछ। समूह बी बाट यूएईले सेमिफाइनलमा स्थान बनाइसकेको छ।
प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेताले समूह बी को उपविजेतासँग खेल्नेछन्। दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेताले समूह ए को उपविजेतासँग खेल्नेछ।
प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ। शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ।













