बजारमा छाउँदै दहचोकको ‘मैना’ ब्राण्ड

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१ दहचोकमा रहेको शुभ सोप एण्ड केमिकल उद्योगको उत्पदान ‘मैना’ ब्राण्डको लुगा धुने तथा भाँडा माझ्ने साबुन र सर्फको उत्पादन बढाउने तयारी गरिएको छ ।

चार वर्षअघि तीन जना साथी मिलेर ८५ रूपैयाँ लगानी गरेर सुरू गररिएको सो उद्योगको उत्पादन विस्तार हुन लागेको हो ।

लगानी कर्तामध्येका एक कृष्णप्रसाद आचार्यले साना उद्यमीहरुलाई साबुन उत्पादन गर्न आफूहरुले केमिकल पनि बिक्री गर्ने गरेको जानकारी दिए । उनका अनुसार उद्योगबाट दैनिक एक हजार पाँच सयदेखि दुई हजार साबुन, सर्फ एक हजार किलो, भाँडा माझ्ने साबुन एक हजार किलो उत्पादन हुने गरेको छ ।

सुरु अवस्थामा आफूहरुले उत्पादन गरेको साबुनले बजार पाउन निकै मुस्किल हुने गरेको स्मरण गर्दै उनले भने, ‘सानो व्यवसाय गर्नेलाई ठूलो लगानीका व्यवसायीलाई जस्तो सहज नहुँदो रहेछ ।’ नेपालको बजारमा बहुर्राष्ट्रिय कम्पनीका साबुनहरुको एकाधिकार हुँदा स्वदेशी लगानीका साना उद्यमीहरुलाई व्यवसाय गर्न सकस हुँदै आएको छ ।

व्यवसायी आचार्यले भने, ‘ठूला व्यापारीले सानालाई उनीहरुले उत्पादन गरेको सामग्री तल्लो स्तरमै राखेर व्यापार गरुन, ठूलो स्केलमा व्यापार नगरुन भनेर सोच्ने गरेका छन् । यसले गर्दा बजारमा प्रतिस्पर्धा गर्न निकै गाह्रो छ । सरकारले पनि साना स्वदेशी उद्योगीलाई प्रोत्साहन र संरक्षण गर्दैन् ।’

शुभ सोप उद्योगले उत्पादन गर्ने साबुन स्थानीय बजार, सुपर मार्केट, थोक व्यापारी, डिलरमार्फत काठमाडौं, धादिङ, नुवाकोट, मकवानपुर लगायतका जिल्लामा बिक्री हुने गरेको छ । उनले यस व्यवसायबाट बार्षिक १५ लाख रुपियाँ जति आम्दानी हुने गरेको आचार्यले बताए ।

उनले कच्चा पदार्थको मूल्य घट्बढ् हुँदा समस्या हुने गरेको सुनाए । आचार्यले कच्चा पदार्थ मूल्यअनुसार मूल्य समायोजन गरी बिक्री गर्दा सरफको मूल्य कुनै समय ५० देखि ६५ रुपियाँसम्ममा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । साबुनको प्रतिकिलो १३० रुपियाँमा बिक्री गर्ने गरेका छन् । यसले साबुनको मूल्यमा भने कुनै समस्या नआउने उनले बताए ।

बजारका उपभोक्ताले शुभ सोपको  साबुन प्रयोग गरेपछि राम्रो प्रतिक्रिया जनाउने गरेको आचार्यले बताए । आफूले गरेको कामको राम्रै प्रतिफल पाएकोमा उनी सन्तुष्ट नै छन् । आफ्नो उद्योगबाट उत्पादित साबुन र सरफले जनस्वास्थ्यमा कुनै हानी नगर्ने उनको जिकिर छ ।

आचार्यले ठूलो मात्रामा कच्चा पदार्थ आयात गर्दा समस्या नभए पनि सानो मात्रामा आयात गर्दा   समस्या हुने गरेको बताउँदै सोही समस्याका कारण विराटनगरको थोक व्यापारीहरुलाई केही नाफा दिएर कच्चा पदार्थ ल्याउने गरेका बताए ।

देशमा नै केही गरौं भनेर आफूहरुले साबन उद्योग सुरु गरेको अचार्यको भनाई छ । उनले भने, ‘नेपालमा बसेर उद्योगी भएर काम गरौं, देशभित्रै केही गरौं भनेर उद्योग सुरु गरेको हो । सबै विदेश मात्रै जाने हो भने देश कसले बनाउने ?’

सरकारले ठूला उद्योगीलाई मात्रै सहयोग र समर्थन गर्ने गरेको कुराबाट भने आचार्य निराश छन् । उनले भने, ‘ठूला व्यवसायीले जे गर्दा पनि छुट हुन्छ । सानाका लागि सरकारको सबै नीति नियम लागू हुन्छ ।’ उद्योग सञ्चालन गर्ने कुरामा सरकारबाट कुनै सहयोग नपाएको आचार्यको भनाई छ । ‘सरकाले साना उद्योगी व्यवसायीलाई सहयोग गर्दा पनि गर्दैन् । गर्छ भन्ने आशा पनि छैन् । आफ्नो बलबुताले संघर्ष गरेर जोखिम मोलेर उद्योग चलाउने हो’ उनले कर्पोरेट नेपालसँग भने ।

अब छिटै शुभ सोप उद्योगबाट झोल साबुन, हर्पिक, वासिङ मेसिन सरफ, डल्ला साबुन उत्पादन गर्ने योजना रहेको आचार्यले बताए । यी उत्पादन सुरु गरेपछि बजारमा प्रतिस्पर्धा पनि गर्न सकिने, व्यवसाय पनि बढ्ने र रोजगारी पनि धेरैलाई दिन सकिने उनको विश्वास छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *