एसीसी प्रिमियर कप: फाइनलमा पुग्न नेपालले कुवेतलाई दियो ४२ ओभरमा २८२ रनको लक्ष्य
थानकोट ।
कप्तान रोहित कुमार पाैडेलको ९४ रनको मद्दतमा नेपालले काठमाडाैंमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमीफाइनमा कुवेत विरूद्ध २८२ रनको चुनाैतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
वर्षाले प्रभावित खेल ४२ओभरमा घटाइएको थियो । जहाँ नेपालले निर्धारित पुरै ओभर खेल्दै ९ खेलाडीको नोक्सानीमा २८१ रन बनाएपछि कुवेतले २८२ रनको विजयी लक्ष्य पाएको हो।
नेपालका लागि कुशल मल्लले ४४ बलमा समान ४-४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे।
ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो।
भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए।
करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे।
बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३-३ विकेट लिए।
अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ। जहाँ युएईले दिएको २३७ रनको लक्ष्य पछ्याइरहेको ओमानले ताजा स्थितिमा २ खेलाडी गुमाउँदै २१.२ ओभरमा १०२ रन बनाएको छ ।
प्रतियोगिताको फाइनल आगामी सोमबार मुलपानी मैदानमा हुनेछ।













