एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्‍ने

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्‍ने भएका छन् । 

शनिबार भएका दुई सेमिफाइनल खेलमा नेपाल र यूएई विजेता बन्दै उपाधि नजिक पुगेका हुन् । कीर्तिपुर मैदानमा खेल वर्षाले प्रभावित हुँदा नेपाल समूह चरणमा गरेको प्रदर्शनका आधारमा विजेता घोषित हुँदै फाइनल पुग्यो । यद्यपि वर्षाले खेल रोकिँदा नेपाल जित नजिक पुगिसकेको थियो । फाइनल खेल सोमबार कीर्तिपुर मैदानमा हुनेछ । सोमबार वर्षाले खेल हुन नसके मंगलबार खेल हुनेछ । फाइनलका लागि रिजर्भ डे राखिएको छ । 

पहिलोपटक वर्षाले  खेल रोकिँदा ४२–४२ ओभरमा छोट्याइएको थियो । कीर्तिपुर मैदानमा नेपालले निर्धारित ओभर ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो । कुवेतले जवाफी ब्याटिङ गर्दा फेरि वर्षाले खेल रोकियो । त्यतिबेला कुवेतले ८ ओभर ३ बलमा ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । वर्षाका कारण फेरि खेल हुन नसकेपछि नेपाललाई समूह चरणको प्रदर्शनका आधारमा विजेता घोषणा गरिएको हो । नेपाल समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो । 

उता मूलपानी मैदानमा डीएल मेथडअनुसार २ रनले जित निकाल्दै यूएई फाइनलमा पुगेको हो । पहिला ब्याटिङ गरेको यूएईले ओमानलाई २३७ रनको लक्ष्य दिएको थियो । तर ओमानले जवाफी ब्याटिङ गर्दा वर्षाले खेल रोकियो । त्यतिबेला ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो । फेरि खेल हुन सकेपछि नतिजा डीएल मेथडबाट निकालिएको थियो । जसमा यूएई २ रनले अगाडि रह्यो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *