एसीसी प्रिमियर कप: फाइनलमा नेपाल र युएई भिड्दै, विजेताले एसिया कपमा स्थान बनाउने
थानकोट ।
एसीसी प्रिमियर कपको फाइनलमा आज आमने–सामने हुँदा नेपाल युएईलाई हराउँदै एसिया कपमा स्थान बनाउने लक्ष्यमा मैदानमा उत्रने छ।
त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र संयुक्त अरब ईमिरेट्स (यूएई) भिड्दैछन्।
पछिल्लो समय एकपछि अर्को उत्कृष्ट प्रदर्शनका साथ लगातार जितको नतिजा ल्याएको नेपाल युएईविरुद्ध सोही जित लय कायम राख्न चाहन्छ। नेपालले एक महिनाअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइसिसी विश्वकप क्रिकेट लिग टु को अन्तिम खेलमा युएईलाई नै निराश पार्दै एकदिवसीय विश्वकप छनोटको टिकट पक्का गरेको थियो। खराब प्रकाशका कारण खेल रोकिँदा डिएल मेथडमा अघि रहेका कारण नेपालले सो उपलब्धि हासिल गरेको थियो।
नेपाल आज हुने खेलमा पनि युएईलाई हराउँदै एसिया कपको टिकट काट्न चाहन्छ। युएईलाई हराउन सके नेपालको भारत र पाकिस्तानसँग खेल्ने सपना साकार हुनेछ। समूह ‘ए’मा पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कपको विजेताले स्थान बनाउनेछ। समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश र अफगानिस्तान रहनेछन्। एसिसी प्रिमियर लिगको फाइनल प्रवेश गरेका नेपाल र युएईसँगै तेस्रो स्थानको ओमानले एसिसी इमिर्जिङ कपमा भने स्थान बनाइसकेका छन्।
शनिबार वर्षाले खेल रोकिएसँगै कुवेतविरुद्धको सेमिफाइनलमा नेपाल नतिजाविहीन भएको थियो। यद्यपि नेपाल समूह चरणमा गरेको प्रदर्शनका आधारमा फाइनल प्रवेश गरेको थियो।
नेपाल समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। यस क्रममा नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराउँदा दोस्रो खेलमा ओमानमाथि ८४ र चौथो खेलमा कतारविरुद्ध ६८ रनको जित निकालेको थियो। नेपाल र साउदी अरेबियाबीच गत सोमबारका लागि तय तेस्रो खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले अंक बाँडेका थिए। समूहचरणमा अपराजित रहेको नेपालले ७ अंक जोडेको थियो।
यता समूह ‘बी’को उपविजेताका रूपमा नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको कुवेतका लागि पहिलो खेलमा युएईलाई सुम्पिएको नतिजा महंगो बन्यो। पहिलो खेलमा युएईलाई नतिजा सुम्पिएको कुवेतले दोस्रो खेलमा बहराइन, तेस्रो खेलमा सिंगापुर र अन्तिम खेलमा हङकङलाई हराएको थियो।
नेपालका कप्तान रोहित पौडेल आफूहरूसँग इतिहास रच्ने अवसर भएकाले त्यसलाई खेर जान नदिने बताउँछन्।
‘यो हाम्रा लागि ठूलो अवसर हो,’रोहितले भने, ‘युएईलाई हराएमा भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटकै बलिया टोलीविरुद्ध खेल्ने सपना पूरा हुनेछ। हामीले दबाबसहित आफ्नो स्वाभाविक खेल खेल्नुपर्छ। हामी एसिया कपबाट मात्र एक कदम पर छौं। यो अवसर खेर जान दिने पक्षमा छैनाैं।’
युएई भने ओमानलाई डिएल मेथडमा २ रनले हराउँदै फाइनल प्रवेश गरेको थियो। युएई जितसहित नेपालको एीसया कप खेल्ने लक्ष्यमा पूर्णविराम लगाउने लक्ष्यमा हुनेछ।













